खैरो हेरोइनसहित २ जना पक्राउ
कैलाली प्रहरीले ९ ग्राम २३० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विशेष सूचनाका आधारमा आइतबार लागू औषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–०१ बिजौरा स्थित माछा पोखरी नजिक चेकजाँच गर्ने क्रममा से.३ प ५१४१ नम्बरको मोटरसाइकल चालक २७ वर्षीय राजु चौधरीलाई नियन्त्रणमा लिएको हो ।
उनको मोटरसाइकलको भाइजर मुनी टी–गार्डको प्वालभित्र लुकाइ राखिएको अवस्थामा ९ ग्राम खैरो हेरोइन फेला परेको थियो ।त्यस्तै, इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले टीकापुर नगरपालिका–०६ नारायणपुर चोकमा पैदल हिँडिरहेका ४१ वर्षीय नारायण डगौरालाई शङ्का लागि चेकजाँच गर्दा मुखमा लुकाइ राखेको २३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।