फिल्म हल आजदेखि खुल्ने
‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन्। आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको चलचित्र भवनबाहेक अन्य चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुने जानकारी दिए। उनले भने, “सुरक्षालाई उच्च प्राथमिकता दिँदै हामीले चलचित्र भवन सञ्चालनमा ल्याउन लागेका हौँ। अवस्था सामान्य भएसँगै हामी पनि सामान्य अवस्थमा फर्किन लागेका हौँ।”
अध्यक्ष महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गरे पनि राति १० बजेभित्र चलचित्र भवन बन्द गर्नेगरी सञ्चालन गर्न लागिएको बताए।