डिंगरनगर दूरगामी सहकारीका १ हजार ८०४ सदस्यले मागे बचत फिर्ता
रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका एक हजार ८०४ जनाले बचत फिर्ताको माग गर्दै निवेदन दिएका छन् । उक्त सहकारीमा शेयर सदस्यको ३३ करोड रुपैयाँ बढी बचत छ ।
सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक बसन्त पराजुलीले बचत अपचलन गरेको भन्दै उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी परेको दुई हप्ता बित्न लागे पनि प्रहरीले मुद्दा दर्ता गरेको छैन ।
छानबिन समितिले एक महिना लगाएर तयार गरेको प्रतिवेदनको तथ्य–प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरी निक्षेप सुरक्षित र बचत फिर्ताको जाहेरी दिए पनि राजनीतिक चलखेलले ढिलासुस्ती गरिएको बचतकर्ताको आशंका छ । अध्यक्ष र सचिव नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।
छानबिन प्रतिवेदन अनुसार सञ्चालक समितिबाट ८ करोड बढी अनियमितता भएको देखिएको छ । यस्तै, १२ करोड रुपैयाँ हिनामिना (खाए/मासेको), २५ करोड रुपैयाँ अपचलन र ८५ करोड रुपैयाँ नीतिगत अपचलन भएको अडिट प्रतिवेदनले देखिएको छ ।
सहकारीले विभिन्न व्यक्तिका नाममा ३४ करोड ७ लाख ५५ हजार ८१४ रुपैयाँ गैरकानुनी ऋण प्रवाह गरेको छ । ऋण प्रवाह गर्दा ९ करोड २८ लाख ३० हजार बराबरको मात्र धितो राखेको छ । यस हिसाबले सहकारीको कुल ऋणमध्ये २१ करोड ७४ लाख ६६ हजार ५४९ रुपैयाँ जोखिममा छ ।
त्यस्तै, व्यवस्थापक बसन्त पराजुलीले ४ करोड ७० लाख ७६ हजार १२१ रुपैयाँ अनियमितता गरेको अडिट रिपोर्टले औंल्याएको छ । पराजुलीसँग उक्त रकमको ब्याजसहित ४ करोड ८० लाख ९७ हजार असुल्नुपर्ने देखिएको पनि अडिट रिपोर्टमा उल्लेख छ ।
सञ्चालक समितिले ८ करोड २७ लाख ३१ हजार ४७६ रुपैयाँ अनियमितता गरेको हुँदा उक्त रकम समितिले जिम्मा लिनुपर्ने सुझाव पनि अडिट रिपोर्टमा दिइएको छ ।
अध्यक्ष, सचिव र व्यवस्थापकविरुद्ध सहकारी ठगीमा किटानी जाहेरी परेको र बचतकर्ताहरुबाट पनि बचत फिर्ताको मागसहित उजुरी परेकाले भेरिफाइ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । ‘१८०४ जनाको सामूहिक उजुरी आएको हुँदा कतिपय उजुरीकर्ताको हस्ताक्षर नभएको पाइएकाले उहाँहरुलाई सम्पर्क गरेर भेरिफाइ गर्दैछौं, यो सकेपछि मुद्दा दर्ता होला,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भने ।
सहकारीबाट ऋण लिएका सञ्चालकहरुलाई उपस्थित भएर ऋण लिएको रकम यकिन गर्न भनिसकेकाले यसपछि अनुसन्धान गरी अभियोजन अघि बढ्ने उनको भनाइ छ ।