घुससिहत पक्राउ परेका कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप) को जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय कलंकीमा कार्यरत कार्यालय सहयोगी (करार) एकेन्द्र बहादुर कुँवरविरुद्ध विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार कुँवरले सेवाग्राहीसँग जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै १३ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए। अनुसन्धानपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसूर देखिएको भन्दै अख्तियारले बिगो १३ हजार कायम गरी कैद सजाय र सोही रकम बराबरको जरिवानाको मागसहित आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कुँवरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार सजाय माग गरिएको छ।