सेयर बजारमा दुई दर्जन कम्पनीलाई विध्वंसको कारण असर
२ असोज, काठमाडौं । भदौ २४ मा विरोध प्रदर्शनका क्रममा आक्रमणकारीले गरेको आगजनी, तोडफोड र लुटपाटका घटनाबाट सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनीलाई असर पर्ने देखिएको छ ।
विध्वंसका कारण सेयर बजारमा सूचीकृत तीनवटा पब्लिक कम्पनीमा आगजनी तथा भौतिक क्षति नै भएको छ । तारागाउँ रिजेन्सी होटेल, चन्द्रागिरि हिल्स लिमिटेड तथा नेपाल टेलिकमका केही भौतिक संरचनामा आगजनी लुटपाट तथा तोडफोड भएको छ ।
त्यस्तै, देशभर विभिन्न बाणिज्य बैंकका शाखाहरुमा समेत क्षति पुगेको नेपाल बैंकर्स संघले जनाएको छ। अप्रत्यक्ष रुपमा भने निर्जीवन बीमा, पुनर्बीमा कम्पनी एवम् होटेलहरू बढी प्रभावित भएका छन् । यी कम्पनीको बिजनेसमा प्रत्येक्ष असर पर्ने भएकाले सेयर मूल्यमा यसको प्रभाव देखिन सक्नेछ ।
नेप्सेमा १३ निर्जीवन बीमा कम्पनी, २ पुनर्बीमा कम्पनी सूचीकृत छन् । हालसम्म ३० अर्ब रुपैयाँ हाराहारीमा माग दाबी परेको छ । यो दाबी रकम बढ्न सक्ने निर्जीवन बीमक संघको अनुमान छ । पर्यटन सेवा प्रभावित हुँदा होटल तथा पर्यटन समूहका ६ कम्पनीको बिजनेसमा अबका केही महिना सिधा असर पर्ने भएको छ ।
सेयर बजारमा सूचीकृत रहेकामध्ये बौद्धस्थित तारागाउँ रिजेन्सी होटल (हायात)को एउटा भवनमा आगजनी भएको छ । मुख्य गेटनजिक रहेको क्यासिनो भवन र सो भवन भित्रका भौतिक संरचना आगजनी भएको छ । तर पर्यटक बस्ने रुम रहेका भवन भने सुरक्षित नै छन् ।
पार्किङमा रहेका केही सवारीसाधन जलाइएको छ । आगजनीका कारण तत्कालै होटेल सञ्चालन गर्न भने असहज छ । होटलको बिजनेसमा अरु केही महिना असर पर्न सक्ने छ ।
त्यस्तै सूचीकृत अर्को कम्पनी चन्द्रागिरि हिल्सको तल्लो स्टेशनमा आगजनी भएको छ । तल्लो स्टेसनमा भएको आगजनीले अहिले चन्द्रागिरि हिल्सको केबुलकार सेवा ठप्प छ । केबुलकार सेवा सञ्चालन नै अनिश्चित भएको छ । यसले कम्पनीको बिजनेसमा केही महिना असर पार्नेछ । निर्माण सम्पन्न भएपछि मात्रै निर्वाध रुपमा व्यवसाय सञ्चालनमा आउनेछ ।
‘चन्द्रागिरि केबुलकार कुनै एकल लगानी भएको संस्था होइन, यो पब्लिक कम्पनीका रुपमा लाखौं साझा लगानीकर्ता भएको संस्था हो’ कम्पनीले विज्ञप्तिमा भनेको छ ‘प्रदर्शनका क्रममा मंगलबार केबुलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको छ, तर हामी विचलित भएका छैनौं ।’
यी दुई मात्रै नभई होटल तथा पर्यटन समूहका अरु ४ कम्पनी सोल्टी, ओरियन्टल, सिटी होटल र कालिन्चोक दर्शनलाई पनि अप्रत्येक्ष रुपमा असर पर्नेछ ।
हालको विध्वंस घटनाले विश्वभर नकारात्मक सन्देश फैलिएको छ । पर्यटन सिजन सुरु हुनै लाग्दा भएको यो घटनाले नेपाल आउने पर्यटकको मनोभावनालाई असर परेको होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन् ।
‘यतिबेला विदेशमा एउटा गलत म्यासेज फैलिएको छ, अब सरकार र निजी क्षेत्रका सबै व्यवसायीले तत्कालै सकारात्मक सन्देश प्रवाह गराउनुपर्छ’ उनले भने । सकारात्मक सन्देश बढाउन सके केही महिनामै पर्यटन क्षेत्र रिकभर हुने उनले बताए ।
२३ र २४ गते भएको प्रदर्शनका क्रममा कयौं होटल बुकिङ समेत रद्द भएका छन् । ‘यतिबेला होटल तथा पर्यटन सेक्टरका कम्पनीको बिजनेसमा धक्का परेको छ’ शाहले भने।
तर ट्रेकिङमा कुनै अवरोध नरहेको, हाम्रा पर्यटकीय सम्पदा दुरुस्त रहेको, कुनै महँगी नभएको जस्ता सन्देश कुटनीतिक नियोगमार्फत पुर्याएर पर्यटन क्षेत्र जगाउनुपर्ने उनले बताए ।
१३ निर्जीवन बीमा कम्पनीमा हलचल
विध्वंसले सूचीकृत सबै १३ निर्जीवन बीमा कम्पनीलाई सिधा असर पर्ने भएको छ । विभिन्न भवन, सवारीसाधन, चोरिएका सुन तथा अन्य मूल्यवान वस्तुहरुको बीमा गरिएको हुन्छ।
ती सम्पत्तिको निर्जीवन बीमा कम्पनीले क्षतिपूर्ति दिलाउँछन् । हालसम्म करिब ३० अर्ब रुपैयाँ माग दाबी गर्दै आवेदन परेको निर्जीवन बीमक संघले जनाएको छ । यो दाबी रकम अझै बढ्न सक्ने अनुमान छ ।
निर्जीवन बीमक संघका अध्यक्ष विरेन्द्रबहादुर बैदवार क्षेत्रीका अनुसार अहिले केही ठूला दाबीहरू मात्रै आएको छ । ‘जति क्षति भएको छ, त्यो क्षति सबै निर्जीवन बीमा कम्पनीमा बाँडिएको हुन्छ, त्यसैले धेरै आत्तिनुपर्ने अवस्था पनि होइन ।’
सेयर बजारमा सूचीकृत भएका निर्जीवन बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेस्ट, युनाइटेड अजोड, सिद्धार्थ प्रिमियर, नेको, प्रभु, सगरमाथा लुम्बिनी, आईजीआई, शिखर, एनएलजी, सानिमा जीआईसी तथा नेपाल माइक्रो इन्स्योरेन्स छन् ।
जोखिम हस्तान्तरण विषय प्राविधिक भएको बताउँदै क्षेत्रीले मोटामोटी औसतमा ३५ प्रतिशतको हाराहारीमा निर्जीवन बीमा कम्पनी आफैंले जोखिम लिने गरेको जानकारी दिए ।
उता रेटिङ कम्पनी इक्रा नेपालले केही कम्पनीलाई पछिल्लो विध्वंसले नकारात्मक प्रभाव परेको रुपमा औंल्याएको छ । सार्वजनिक सूचनामार्फत नै इक्राले आफूले रेटिङ गरेकामा नेपाल पुनर्बीमा र अरु ५ निर्जीवन कम्पनीलाई ‘नकारात्मक प्रभावमा हेर्नुहोस्’ भन्ने सूचना जारी गरेको छ ।