ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत आयात कर घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्त १ बाट दक्षिण कोरिया र जापानबाट अमेरिका भित्रिने उत्पादनहरूमा २५ प्रतिशत आयात कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, आफूले दुवै देशका नेताहरूलाई पत्र पठाएको उल्लेख गरेका छन्। ट्रम्प प्रशासनले विश्वका अन्य मुलुकहरूमाथि पनि यस्तै कर लगाउने तयारी गरिरहेको बताइएको छ, जुन आगामी केही दिनमा औपचारिक रूपमा घोषणा हुने सम्भावना छ।
यसअघि अप्रिल महिनामा राष्ट्रपति ट्रम्पले पहिलो चरणमा जापानी उत्पादनमा २४ र दक्षिण कोरियन सामानमा २५ प्रतिशत ‘ट्यारिफ’ लगाउने योजना सार्वजनिक गरेका थिए। पछि वित्तीय बजारमा आएको असन्तुलनका कारण केही करहरू ९० दिनको लागि स्थगित गरिएको थियो। त्यो अवधि जुलाई ९ मा सकिँदै छ।