प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै छन्।
उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन्।
प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।
प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्नेछन्। सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।