सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध पाठक आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सोमबार न्यायाधीश ऋषिराज भण्डारीले अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन्।
यस्तै, दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलका लागि असार ५ गते बोलाएको छ।
निवेदकको गम्भीरतालाई विचार गरी निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) क बमोजिम विपक्षीहरूका नाउमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको बताए।
अर्को आदेश जारी नहुञ्जेलसम्म अल्पकालीन अन्तरिम आदेश अनुसार उनलाई प्रहरीले पक्राउ गर्न नसक्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए।
उनको पक्षबाट वरिष्ठ अधिवक्ता सम्भु थापा, दिनेश त्रिपाठी र भीमार्जुन आचार्य तथा ओमप्रकाश अर्याल, सन्तोष बहादुर सिग्देल, गोकुल भण्डारी, कुलराज लामिछाने, गोकुल न्यौपाने र दिवाकर पुरीले बहस गरेका थिए। यस विषयमा पाठकको निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने भनेर लिखित जवाफ समेत माग गरेको छ।