नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने
नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको डजका उच्च अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसरी परियोजना पाउने देशहरूमा नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोष्ट रहेका छन् । समाचार संस्था रोयटर्सका अनुसार नेपाल र सेनेगलको प्रसारण लाइन परियोजना, मंगोलियाको फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टको विद्यालयसम्बन्धी परियोजनाले निरन्तरता पाउनेछन् । यद्यपि कार्यक्रमको निरन्तरता देशको आधारमा गरिएको हो कि परियोजनाको आधारमा भन्ने केही उल्लेख गरिएको छैन ।
अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारको काम अघि बढाइरहेको छ । अमेरिकाको ५५० मिलियन डलर र नेपालको समेत लगानीमा ५०० केभीए क्षमताको डबल सर्किट प्रसारण लाइन र सबस्टेशन निर्माण तथा सडक स्तरोन्नति र मर्मतको कार्य अघि बढेको छ । ग्रीडलाई मात्रै निरन्तरता दिने निर्णय भएको अवस्थामा सडक परियोजना भने प्रभावित हुनेछन् ।