जंगलमा चर्न छाडिएका ८ खसीबाख्रा मृत भेटिए
सल्यानमा चर्नका लागि स्थानीयले वन जंगलमा छोडेका आठ खसी बाख्रा मरेको अवस्थामा फेला परेका छन्। थप सात वटा खसी बाख्रा अझैं फेला परेका छैनन्।
वनगाड कुपिन्डे नगरपालिका – ५ पाँचारेस्थित सल्लेरी सामुदायिक वनमा चर्नका लागि छोडेका स्थानीयका खसी बाख्रा मरेको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी प्रमुख केशर न्यौपानेका अनुसार वनमा चर्नका लागि छोडिएका खसी बाख्रा मरेको अवस्थामा फेला परेपछि स्थानीयले बाघले मागरेको आशंका गरेको बताए।
पाँचारेका किसानहरू चरनका लागि चौपाया जंगलमा छाड्छन्। फागुन १० गते त्यसरी जंगलमा चर्नका लागि छोडिएका खसी बाख्रा बेलुकी फर्केर नआएपछि खोजी सुरु भएको थियो।
११ गते वन जंगलमा खोजी गर्ने क्रममा वनगाड कुपिन्डे नगरपालिका – ११ का मोहलाल पुनको ४ वटा, मदन पुनका दुइटा, पहलसिंह विकको एउटा र धनबहादुर केसीको थप एउटा बाख्रा मरेको अवस्थामा जंगलमा फेला परेको डिएसपी न्यौपानेले जानकारी दिए ।
आइतबार दिउँसो साढे १२ बजे जंगलमा ८ वटा खसी बाख्रा बाघले मारेको अवस्थामा फेला परेको भनेर स्थानीयले वडाध्यक्ष विरबहादुर बुढालाई सूचना दिएका थिए।
त्यसपछि वडाध्यक्ष बुढाले प्रहरी चौकी वनगारमा खबर गरेका थिए। चौकीबाट प्रहरी सहायक हवल्दार बृषप्रसाद कुमाईको कमाण्डमा दुई सदस्य प्रहरी दिउँसो पौने ४ बजेतिर घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार अझैं चर्नका लागि जंगलमा छोडिएका मध्य स्थानीय तुम्को बुढाका ५ वटा र देवबहादुर पुनको एउटा भेडा फेला परेको छैन। त्यस्तै २६ वर्षीय मदन पुनका थप एउटा बाख्रापनि फेला नपरेको हुँदा खोजी कार्य जारी छ।
फेला नपरेका भेडाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। मृत अवस्थामा फेला परेका खसी बाख्राको घाँटी लगायतका भागमा केही चिथोरेको घाउ खतहरु देखिएको प्रहरीले जानकारी दिएको छ।