कक्षा ९ मा अध्ययनरत नमराज बि.क.ले आफ्नो सृजनशीलताले गरे सबैलाई प्रेरित
दैलेख जिल्लामा रहेको आठबिस नगरपालिकाको वडा नं ६ रोल स्थित श्री गणेश माविमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय नमराज बि.क.ले आफ्नो सृजनशीलताले सबैलाई प्रेरित गरेका छन् । आर्थिक अभावका बिच हुर्किएका नमराजले माटोबाट भगवानका मूर्तिहरू तयार पारेका छन् ।
सानैदेखि चित्रकलामा रुचि राख्ने नमराजले विद्यालयको समय बाहेक बचेको समय माटो सङ्कलन गरेर घरमै विभिन्न मूर्तिहरू बनाउने गरेका छन् । उनले देखाएको सृजनशीलता सबैका लागि उदाहरणीय बनेको छ । नमराज भन्छन्, “यदि मलाई आवश्यक सामग्री उपलब्ध भएको भए, म अझ धेरै उत्कृष्ट कला सिर्जना गर्न सक्छु।”
उनी अहिले काठको गाडी बनाउन प्रयास गरिरहेका छन् । सोलार ब्याट्रीको सहायताले चल्न सक्ने गाडी बनाउने योजना बनाएका उनी भोलिका दिनमा इन्जिनियर बन्ने सपना बुनिरहेका छन् । नमराजको यो सपना पूरा गर्न उनका साथीभाइ, शिक्षक, र स्थानियवासीहरूले पनि प्रशंसा गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन् ।
उनको मेहनत र लगनशीलतालाई सबैले सम्मान गरिरहेका छन् । माटोका मूर्तिहरू र काठका गाडी बनाउने सीपले उनलाई अझ सशक्त बनाउनेछ भन्ने विश्वास गरिएको छ ।
