विकल्प खोज्न माग, त्रिवि मैदानको पढाइमा असर परेको गुनासो
त्रिवि खेलमैदानमा प्रायः सधैँ हुने क्रिकेट प्रतियोगिताले विश्वविद्यालयको पठनपाठनमा बाधा परिरहेको प्रिन्सिपल कार्यालयले निष्कर्ष निकालेको छ ।
८ माघ, काठमाडौं । मुलुकमा क्रिकेटको क्रेज बढ्दो छ । राष्ट्रिय तथा नेपालले खेल्ने अन्तर्राष्ट्रिय म्याचलाई पछ्याउने नेपालीहरूको संख्या लाखौँ पुगिसकेको छ । यति लोकप्रिय हुँदा हुँदै पनि मुलुकभित्र सुविधासम्पन्न एउटै रंगशाला छैन ।
नेपाली क्रिकेट करिब करिब कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा भर परिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रायः सबै प्रतियोगिता त्यही मैदानमा आयोजना गरिने हुनाले त्रिवि खेलमैदान सधैँ व्यस्त रहन्छ ।
त्रिभुवन विश्वविद्यालयको हाताभित्रै रहेको खेलमैदानलाई सुविधा सम्पन्न बनाउन पटकपटकका सरकारले विभिन्न घोषणा गरेका छन् र प्रयास पनि भइरहेको छ ।
यति नै बेला त्रिवि खेलमैदानको विकल्प खोज्नु पर्ने आवाज पनि उठ्न थालेको छ । विशेषगरी, प्राज्ञिक क्षेत्रबाट यस्तो आवाज उठिरहेको छ । त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपल कार्यालयले विकल्प खोज्न प्रस्ताव नै गरेपछि विकल्पको आवाज उठ्न थालेको हो ।
क्रिकेट मैदानमा भइरहने प्रतियोगिताले विश्वविद्यालयको पठनपाठन प्रभावित भएको निष्कर्ष प्रिन्सिपल कार्यालयको छ ।
‘मैदान बढाउने कुरा आएको छ । तर, प्राज्ञिक ठाउँमा ठूला–ठूला खेलका प्रतियोगिता हुँदा असर पर्ने रहेछ । यो विषयमा अहिले नै सोचिएन भने दीर्घकालमा ठूलो असर पर्ने देखिन्छ,’ प्रिन्सिपल कार्यालयका प्रोक्टर राजेन्द्र कोइरालाले भने, ‘त्रिविको जग्गामा क्रिकेट मैदान बढाउन हुँदैन ।’
विद्यार्थीले डेढ महिना लगाए ताला
गत मंसिर–पुसमा २२ दिन नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण चल्यो । त्यसक्रममा अव्यवस्थित पार्किङको विषयलाई लिएर विद्यार्थीले केन्द्रीय क्याम्पसमा डेढ महिना ताला लगाए । विद्यार्थी र क्याम्पसबीच मंगलबार मात्र क्रिकेट मैदानको विषयमा केन्द्रीय कार्यालयलाई समाधान खोज्न आह्वान गर्ने गरी सहमति भयो । त्यसपछि विद्यार्थीले प्रिन्सिपल कार्यालयमा लगाएको ताला खोले ।
‘प्रिन्सिपल कार्यालयको अगुवाइमा समाधान गर्न केन्द्रीय कार्यालयलाई आह्वान गर्ने सहमति भएको छ,’ अखिल क्रन्तिकारीका अध्यक्ष दिनेश ऐरले भने, ‘मैदान राख्ने कि नराख्ने, कसरी व्यवस्थापन गर्ने भन्नेमा सबै प्रतिनिधि बसेर प्रतिवेदन बनाउने सहमति भएको छ ।’
बारम्बार भइरहने प्रतियोगिताका कारण शैक्षिक वातवरणमा असर परेको विषयमा छलफल गर्न प्रिन्सिपल कार्यालयको नेतृत्वमा प्राध्यापक/विद्यार्थी संघ संगठन, स्ववियु लगायतका प्रतिनिधि केन्द्रीय कार्यालयमा जाने भएका छन् । ‘नेपाल क्रिकेट संघ (क्यान)सँग केन्द्रीय कार्यालयले सम्झौता गरेको हो । त्यसैले मैदानको विवाद समाधान गर्न केन्द्रीय कार्यालय जाने भनेका हौँ,’ प्रोक्टर कोइरालाले भने ।
यसअघि मैदानको विषयमा छलफल गर्न सहरी विकास मन्त्रालयका अधिकारीहरू पनि केन्द्रीय क्याम्पसमा गएका थिए । त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वानसमेत भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि बोलपत्र आह्वान गरेको छ । त्यसैले सहरी विकास मन्त्रालयका अधिकारीहरू छलफलमा लागि त्रिवि पुगेका हुन् ।
सो छलफलमा पनि त्रिविका अधिकांश संघ संगठन र सरोकारवाला निकायका प्रतिनिधिले विश्वविद्यालय र मैदान एकै ठाउँमा नराख्न प्रस्ताव गरेका थिए । ‘सबै निकायका प्रतिनिधि बसेर छलफल भएको थियो । अधिकांशले विश्वविद्यालयको क्षेत्र विद्यार्थीले नै प्रयोग गर्नुपर्छ । विश्वविद्यालयमा आक्रमण गर्नु हुँदैन भन्नुभएको छ,’ प्रोक्टर कोइरालाले भने ।
साभारःअनलाइन खबर