वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने दोलखाका एकजना पक्राउ
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेर म्याद लिएको छ ।
त्रिपाठीमाथि कुटपिट आरोपमा बुधबार नै बबरमहलबाट दोलखा निवासी करिब ४६ वर्षीय ललित केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले केसीलाई बुधबार नै नियन्त्रणमा लिएर अदालतबाट म्याद थप भइसकेको बताएका छन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थामा भएको एक अर्बभन्दा बढी बचत ठगी प्रकरणमा जाहेरवाला (पीडित)को तर्फबाट बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा त्रिपाठीमाथि एउटा समूहले कुटपिट गरेको थियो ।
काठमाडौं जिल्ला अदालतअगाडि रवि र रास्वाका सयौँ समर्थक जम्मा भएका थिए । रविविरुद्ध बोल्ने र बहस गर्नेलाई रास्वपाका कार्यकर्ताले सामाजिक सञ्जालमासमेत निशाना बनाइरहेका छन् ।
अधिवक्ता त्रिपाठीले आफूलाई तिनै रास्वपाका कार्यकर्ताले कुटेको बताएका छन् । रवि प्रतिवादी रहेको सहकारी ठगी मुद्दामा पीडितको तर्फबाट वकालत गरेकै कारण उनले आफूलाई कुटपिट गरिएको बताएका छन् । कुटपिटमा उत्रिएका केही अराजक व्यक्तिहरूले ‘रवि दाइविरुद्ध मुद्दा लडेर जेल पुर्याउने तैँ होइनस्’ भन्दै त्रिपाठीलाई अश्लील गाली गलौज पनि गरेका थिए ।
प्रहरीले केसीमाथि अनुसन्धान भइरहेकाले उनी रास्वपामा संलग्न हो कि होइन भन्ने पुष्टि भइनसकेको जनाएको छ । अनुसन्धान पूरा भएपछि मात्रै केसीबारे भन्न सकिने प्रहरीको भनाइ छ ।
त्रिपाठीमाथि कुटपिट भएपछि नेपाल बार एशोशिएसनसहितका विभिन्न संगठनले कडा विरोध जनाइरहेका छन् । दलहरूले पनि वकालत गर्दैमा अधिवक्तामाथि भएको कुटपिटलाई गम्भीर रुपमा लिएको बताएका छन् ।