खाना पकाउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले
गोरखामा आगलागीबाट तीन घर जलेका छन् । आरुघाट गाउँपालिका-१ मान्वुस्थित स्याम्चेतमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
आगलागीबाट पूर्णबहादुरसहित उनका छोरा बुद्धिमान लामा र आइतसिंह लामाको घर पूर्ण रूपमा जलेको सुवेदीले बताए । आगोले तीनवटै घरभित्र रहेका सबै लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेर नष्ट भएको छ ।
घटनाको जानकारी प्राप्त भएलगत्तै मान्वु प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको र आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।