रविसहितका सबै आरोपीलाई धरौटीमा रिहा गर्न आदेश
जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिर रवि लामिछानेसहितक आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ उक्त आदेश दिएका हुन् । न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो । यस मुद्दामा जाहेरवाला र प्रतिवादीका तर्फबाट साता लामो बहस भएको थियो ।
लामिछानेसहित ४४ जनाविरुद्ध पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौंमा पक्राउ परेर त्यसको भोलिपल्टदेखि कास्की प्रहरीको हिरासतमा थिए ।
न्यायाधीश राईले लामिछानेसहितका प्रतिवादीलाई रिहा गर्ने आदेश दिएसँगै रास्वपालाई राहत भएको छ । यस प्रकरणमा १९ जनाविरुद्ध संगठित अपराध अभियोग लगाइएको थियो। अधिकांशलाई सहकारी ठगी मुद्दा परेको थियो ।\ अदालतले आदेश दिने भएपछि रास्वपाका दर्जन आसपास नेताहरू पोखरा पुगेका थिए ।
कार्यवाहक सभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसद हरि ढकाल र शिव नेपालीसहित कास्की अदालतअगाडि पुगेका थिए । लामिछाने पत्नी निकिता पौडेल अदालतको प्रतीक्षालयमा थिइन् । अदालत आसपासका क्षेत्रमा रास्वपा र रवि समर्थकको ठूलो भीड थियो ।