हश मनी मुद्दामा ट्रम्पले पाउने भएनन् राहत
अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हश मनी मुद्दामा राहत पाएनन् । यो मुद्दामा ट्रम्पलाई सुनाइएको सजाय खारेजीको माग न्यायाधीशले अस्वीकार गरेका छन् ।
फैसलामा न्यायाधीशले काण्ड लुकाउन अभिलेखलाई झुटो बनाइएको र त्यसैले डोनाल्ड ट्रम्पको सजाय यथावत् राख्नु पर्ने बताएका छन् । सर्वोच्च अदालतको हालैको एउटा फैसलालाई आधार मान्दा आफ्नो मुद्दामा सुनाइएको फैसला रद्द हुनु पर्छ भन्ने ट्रम्पको तर्कलाई उनले अस्वीकार गरेका छन् ।
राष्ट्रपतिको रूपमा रहेको समयमा यो मुद्दा आफूमाथि झुन्डिइरहेमा आफ्ना लागि उक्त पदमा रहेर काम गर्न समस्या हुने तर्क ट्रम्पको थियो ।
यस मामिलामा ट्रम्पलाई नोभेम्बर २६ मा सजाय सुनाइने भएको थियो । तर नोभेम्बर ५ मा भएको निर्वाचनमा ट्रम्पले वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई हराएपछि न्यायाधीश जुआन मर्चनले सजायको सुनवाइ अनिश्चितकालका लागि स्थगित गरे ।
व्यापारिक अभिलेखहरूमा छेडखानी गर्ने कार्यले उनको वर्तमान अधिकार र गतिविधिहरूमा हस्तक्षेप नगर्ने ४१ पृष्ठको निर्णयमा न्यायमूर्ति जुआन मर्चनले भनेका छन् ।