जसपा नेपालको अभियानलाई निरन्तरता दिन सुझाव
जनता समाजवादी पार्टी(जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, सङ्गठन विस्तार अभियान’ लाई निरन्तरता दिनेगरी छलफल अघि बढेको छ ।
काठमाडौँमा जारी जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अभियानलाई निरन्तरता दिनुपर्ने आवाज उठेको बताइएको छ । यसअघि ‘जनतासँग जसपा नेपाल, सङ्गठन विस्तार अभियान’ मंसिरसम्म सञ्चालन गर्ने भनिएको थियो ।
अभियानको बारेमा सात वटै प्रदेशले आआफ्नो ब्रिफिङ गर्दा निरन्तरता दिनेबारेमा मत आएको एक कार्यकारिणी समितिका सदस्य एवं महासचिव रामकुमार शर्माले बताए ।
उनले भने, ‘जति साथीहरुले बोल्नुभयो ती सबैले संगठनका लागि अभियान निकै प्रभावकारी रहेकाले यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभएको छ । सबै प्रदेशको ब्रिफिङ सकिएपछि यस बारेमा निर्णय हुन्छ ।’ कतिपय स्थानीय तहमा अभियानका लागि कार्यक्रम गर्न बाँकी पनि छन्, त्यस कारणले पनि अभियानको म्याद थप्ने सम्भावना रहेको बताए । उनले बैठकमा स्थानीय तहको उपचुनाव बारे पनि समिक्षा हुने बताए ।
शुक्रबार सुरु भएर शनिवारसम्म चल्ने बैठकमा पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माण बारे पनि छलफल हुने बताइएको छ ।