पुरानो परम्परा र अन्धबिश्वसका कारणले महिनावरीको बेलामा पुलमा आवतजाउत गर्ने रोक
अछामको पञ्चदेवल विनायक–९ कालेकाँडा र दैलेख जोड्ने खिड्कीज्युलाको कर्णाली नदीमा रहेको झोलुंगे पुल। पाँच महिनाअघि कोल्टिएको उक्त पुलको अझै मर्मत भएको छैन।
दैलेखको आठबिस नगरपालिका–६ की १४ वर्षीया लेलिन मगर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ चिल्तडास्थित चण्डिका माध्यमिक विद्यालयमा पढ्छिन्। गत असारयता उनी झन्डै महिना दिनभन्दा बढी दिन कक्षामा अनुपस्थित भइन्। यसका कारण हो। नियमित आउजाउ गर्ने पुलमा लट्ठा चुँडिएको छ, विकल्पमा रहेको अर्को पुलछेउ मन्दिर छ। महिनावारी भएका बेला त्यो पुल तर्न नमिल्ने पुरानो परम्परा र अन्धबिश्वास रहएको छ ।
अछामको पञ्चदेवल विनायक–९ कालेकाँडा र दैलेख जोड्ने खिड्कीज्युलाको कर्णाली नदीमा रहेको झोलुंगे पुलमा गत जेठ २७ गते सामान बोकेका १३ खच्चडको भार थेग्न नसकेर लट्ठा चुँडिएको थियो । कोल्टे परेको उक्त झोलुंगे पुल अझै मर्मत गरिएको छैन। त्यसको विकल्पमा एक किलोमिटर टाढाको अर्को पुल तर्नुपर्छ। त्यस पुलमा दुवैतर्फ नैनेल देवताको मन्दिर छ।
महिनावारीपछि पनि पाँच–सात दिनसम्मै पूजा आजा गर्न र मन्दिरनजिक जान नपाइने रहेको स्थानीय बताउँछन्। ‘महिनावारी भएका बेला परीक्षा पर्यो, जरुरी पाठ पढाउने दिन भयो भने कोल्टे परेकै पुलबाट डरै डर स्कुल जान्छौं,’ लेलिनले भनिन्, ‘नत्र हरेक महिना स्कुल छुट्छ।’
मन्दिरका कारण पुलमा आउत जाउत गर्न नमिल्ने अन्धविश्वासका कारणले चण्डिका माविमा कक्षा ८, ९ र १० का करिब २५ छात्राले महिनामा १० दिन जति पढाइ छुटाउँछन्। हाजिर नहुँदा प्रतिदिन २० रूपैयाँ जरिवाना तिर्नुपर्ने विद्यालयको नियम छ। ‘महिनावारी हुँदा मन्दिर भएको पुलबाट हिँडे अनिष्ट हुन्छ भन्छन्, हामीलाई पनि हिँड्न डरै लाग्छ,’ आठबिस नगरपालिका–५ की अर्की छात्रा तुल्सी चौलागाईंले भनिन्, ‘स्कुल नजाँदा पढाइ छुट्छ, स्कुललाई जरिवाना पनि बुझाउनुपर्छ।’
पछिल्लो समय छात्रा अनियमित हुने क्रम बढेको चण्डिका माविका शिक्षक जनक न्यौपानेले बताए । ‘केही छात्रा जोखिम मोलेर विद्यालय आउने गर्छन्।
अधिकांश छात्रा महिनावारीको ९ दिनसम्म विद्यालयमा अनुपस्थित हुन्छन्, हरेक महिना ९ दिन पढाइ छुट्नु भनेको सामान्य होइन,’ उनले भने, ‘पहिले राम्रो पढाइ भएका छात्रा अहिले कमजोर हुँदै गएका छन्।’
अछामतर्फ रहेको उक्त विद्यालयमा कक्षा ८, ९, १० दैलेखका विद्यार्थीका कारण मात्र चल्न सम्भव भएको पनि उनले बताए । शिक्षक न्यौपानेले मन्दिर भएकै पुलबाट आउन सुझाव दिँदा पनि छात्राहरू परम्परा र पूर्वकालदेखि मनमा डर पैदा गरिएकाले नआउने गरेको बताए।
यस विषयमा संसद्मा समेत कुरा उठेको थियो। सरोकारवालाले फिल्डमै प्राविधिक कर्मचारी पठाएर पुलको अवस्था अध्ययन गरेका थिए। प्राविधिक टोलीको प्रतिवेदनले ‘पुल मर्मत गरेर मात्रै सञ्चालन गर्नसक्ने अवस्था नरहेकाले नयाँ निर्माण गर्नुपर्ने निष्कर्ष निकाल्यो। समय बित्दै जाँदा सरोकारवालाले पनि त्यो घटना बिर्संदै गएको स्थानीयको गुनासो छ। घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण अछाम र दैलेखका कतिपय मानिसले कोल्टे परेकै पुलबाट जोखिम मोलेर पुल तर्ने गरेका छन्।
मन्दिर रहेको पुल उनीहरूले तर्न नमिल्ने स्थानीयको विश्वास छ। ८ महिना पुगेका गर्भवतीले पनि मन्दिरनजिकको पुलबाट आवतजावत गर्न नमिल्ने मान्यता रहेको पञ्चदेवल विनायक–९ की भानादेवी कार्कीले बताइन्। ‘गर्भावस्थामा अन्यत्र पनि पुल तर्नु हुँदैन भनिन्छ।
झन् यहाँ त पुलछेउमा ठूलै देवताको मन्दिर भएकाले मिल्ने कुरै भएन, उनले भनिन्, ‘हाम्रो मुख्य बजार भनेकै दैलेखको खिड्कीज्युला हो। गर्भवती भएको ८र९ महिनामा पनि बजारतिर जानुपर्ने हुन्छ। मेडिकल पनि उतैतिर छन्। यही जीर्ण पुलबाटै नगई अरु कुनै बिकल्प छैन् ।