कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारमध्ये कसलाई सहयोग गर्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तीनथरी मत देखिएको छ । सोही कारण हालसम्म कसैलाई पनि सहयोगको घोषणा गर्न नसकिएको रास्वपा एक नेताले बताए ।
रास्वपाले स्वतन्त्र उम्मेदवार राजमान महर्जन वा नवरथकुमार बानियाँमध्ये कसलाई सहयोग गर्ने भन्ने टुंगो लगाउन नसकेको ती नेताले बताए । पार्टी नगर समितिलाई निर्णय गर्ने अधिकार दिएपनि नगर समितिनै दुई धारमा विभाजित भएको उनको भनाई छ । नगरलाई काम गर्न दिएको विभाजित भयो । जिल्ला संयोजक त्यही क्षेत्रको बासिन्दा भएपनि बिरामी भनेर चुपचाप बस्नुभएको छ‚’ ती नेताले भने‚ ‘नगर मानवजी र बानियाँ दुबैतर्फ विभाजित भएको छ ।’
सोही अवस्था पार्टी केन्द्रमा पनि देखिएको छ । त्यसैले पार्टी हाल तीन पक्षबाट बहस गरिरहेको छ । पहिलो सरसफाइ अभियन्ता राजमान महर्जनलाई सहयोग गर्ने । दोस्रो‚ प्राडा नवरथकुमार बानियाँलाई सहयोग गर्ने ।
र‚ तेस्रो कसलाई सहयोग गरेको बाहिर सार्वजनिक नगर्ने र नगरमा पार्टीप्रति आस्था राख्नेहरूलाई जता मत हाले पनि स्वतन्त्र छाड्दिने । ‘जसरी विभाजन बढ्दै गएको छ यो हेर्दा तेस्रो विकल्पमा जाने अवस्था देखिन्छ‚’ ती नेताले भने । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि पार्टीले उम्मेदवार नउठाएर स्वतन्त्रलाई सहयोग गर्ने बताइसकेको छ ।