नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे सुरू हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि सुरू भएको बैठकमा ११ वटा एजेन्डा छलफलका लागि पेस भएको छ।
बुधबार दिउँसो बसेको बैठकमा महासमितिले पारित गरेका विभिन्न प्रस्ताव सुझावसहित अनुमोदन गर्नेदेखि भदौ महिनामा संगठन सुदृढीकरण अभियान चलाउनेजस्ता प्रस्ताव रहेको छ।
प्रवक्ता प्रकाशशरण महतले प्रस्तावहरू राखेर बुधबारका लागि बैठक सकिएको जानकारी दिएका थिए।
उनकाअनुसार भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव पनि केन्द्रीय समितिमा पेस भएको छ। यो अभियान १०० दिनसम्म चल्ने प्रस्ताव छ।
राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा यसअघि केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय पनि अनुमोदन गरिएको उनले जानकारी दिए। कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो।
नेविसंघ, नेपाल तरूण दललगायत भ्रातृ संस्थाहरूको अधिवेशनबारे समय दिएको र निर्देशक समिति बनाउने निर्णय यसअघि नै भएको विषयमा पनि छलफलको एजेन्डा छ।
अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासनसम्बन्धी प्रगति विवरण पनि बैठकमा पेस गरेको प्रवक्ता महतले जानकारी दिए।
पार्टीका वडादेखि माथिल्लो तहसम्म रिक्त पदहरूमा कसरी पूर्ति गर्ने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल हुने उनले बताए।
‘क्रियाशील सदस्यता वितरण र नवीकरणका विषय पनि छलफलको एजेन्डा छ,’ उनले भने, ‘यसबारे पार्टीले सर्कुलर जिल्लालाई गरिसकेकोमा त्यसमा आवश्यक थप कुराबारे छलफल हुनेछ।’
विदेशस्थित जनसम्पर्क समिति, नियमावली संशोधनजस्ता विषय पनि केन्द्रीय समितिमा छलफलका लागि पेस गरिएको छ।
वडादेखि संघसम्मका जनप्रतिनिधिका लागि कार्यसम्पादन निर्देशिका बनाउने विषयमा पनि केन्द्रीय समितिमा छलफलका लागि एजेन्डा पेस गरिएको पनि प्रवक्ता महतले जानकारी दिए।
‘११ एजेन्डामा केन्द्रित रहेर बिहीबारदेखि निरन्तर छलफल हुन्छ र निष्कर्षमा पुगिन्छ,’ उनले भने।
नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको र पाँच जनाको मृत्यु भएकोमा कांग्रेसले दुःख प्रकट गरेको छ। दुर्घटनाबारे छानबिन गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ।
प्रवक्ता महतका अनुसार बंगलादेशमा भएको राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल भएको थियो।