आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी छ: अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटको प्रकृति वितरणमुखी नभई उत्पादनमुखी भएको बताउनुभएको छ।
राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत राजस्व र आयव्ययको छलफलमाथि उठेका प्रश्नको जवाफ दिंदै उहाँले यस्तो बताउनुभएको हो । विगतमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिंदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको उहाँले जानकारी गराउनुभयो ।
बजेटले उत्पादन र रोजगारका अवसर सिर्जना गर्ने उल्लेख गर्दै उहाँले बजेटका माध्यमबाट समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व संकलनमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्री पुनले नयाँ करका रुपमा हरित कर थालनी गरिएको बताउँदै मुलुकले सौर्य र नवीकरणीय ऊर्जातर्फ ध्यान दिएको जानकारी दिनुभयो ।
आलु, प्याज र स्याउको आन्तरिक उत्पादनलाई संरक्षण गर्न मूल्य अभिवृद्धि कर हटाइएको पनि उहाँले जानकारी गराउनुभएको छ ।