सन् २०२५ सम्ममा सहायता मिसन अन्त्य गर्ने राष्ट्रसंघको प्रस्तावलाई इराकद्वारा स्वागत
एजेन्सी । इराक सरकारले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसंघीय सहायता मिसन युएनएएमआई समाप्त गर्ने राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावलाई स्वागत गरेको छ।
इराक सरकारका प्रवक्ता बासिम अल–अवादीले एक विज्ञप्तिमा जारी गर्दै इराकी सरकारले सन् २०२५ को डिसेम्बर ३१ सम्ममा संयुक्तराष्ट्र मिसन समाप्त गर्न सर्व सम्मतिले जारी प्रस्तावलाई स्वागत तथा स्वीकार गरेको हो ।
विज्ञप्तिका अनुसार इराकी सरकारले इराकमा राष्ट्रसंघ र यसका विकास कार्यक्रमसँग दिगो सहयोग र साझेदारी जारी राख्ने वाचा समेत गरेको छ।
यसअघि, राष्ट्रसंघीय सुरक्षा परिषदको सर्वसम्मतिले युएनएएमआइको जनादेशलाई अन्तिम १९ महिनाको अवधिका लागि विस्तार गर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार निर्धारित समयपछि मिसनले सबै काम बन्द गर्ने भएको छ।
उक्त मिसन अमेरिकी गठबन्धनको आक्रमणपछि इराक सरकारको अनुरोधमा सन् २००३ मा इराकी सरकार र जनतालाई विभिन्न क्षेत्रमा सल्लाह, समर्थन र सहयोग प्रदान गर्न सुरक्षा परिषदले शुरु गरेको हो।