भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री मोदीले आज राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन् । राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरेको र नयाँ सरकार नबनुन्जेल कार्यबाहक प्रधानमन्त्रीका रुपमा कार्यभार जारी राख्न भनेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
लोकसभा निर्वाचनले ताजा जनादेश दिएपछि मोदीले राजीनामा दिएका हुन् । लोकसभा निर्वाचनमा मोदीको दल भारतीय जनता दल (भाजपा) स्वयं बहुमत प्राप्त गर्न चुके पनि भाजपा नेतृत्वको एनडीए गठबन्धले भने बहुमत प्राप्त गरेको छ । गठबन्धनको समर्थनमा मोदीले यही शनिवार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिने सम्भावना रहेको जनाइएकोछ ।
५ सय ४३ सदस्यीय लोकसभामा बहुमतकालागि कम्तिमा २ सय ७२ सिट चाहिनेमा भाजपा एक्लैले २ सय ४० सिट मात्र जितेको छ भने एनडीए गठबन्धनले २ सय ९२ सिट जितेकोछ । उता विपक्षी इण्डिया गठबन्धनले २ सय ३४ सिट जितेकोछ । जसमा कांग्रेस एक्लैले ९९ सिट जितेको छ भने समाजवादी पार्टीले ३७ सिट जितेको छ ।
ताजा जनादेश आएसँगै नयाँ सरकार निर्माण गर्ने पहल शुरु भएका छन् । सरकार गठनका लागि एकातिर भाजपाले आफ्नो गठबन्धनका सहयोगी दलहरुसँग संवाद शुरु गरेको छ भने निर्वाचनमा उत्साहजनक नतिजा हात पारेको विपक्षी इन्डिया गठबन्धन पनि सक्रिय भएको छ । एनडीए र इन्डिया गठबन्धन दुवैको आज दिल्लीमा बैठक बस्दैछ ।
एनडीएका गठबन्धनका प्रमुख घटक दलहरु जनता दल युनाइटेड जेडीयू र तेलगु देशम पार्टी टीडीपीले भाजपालाई आफ्नो समर्थन पत्र दिने र भाजपाले राष्ट्रपति समक्ष सरकार बनाउने दाबी प्रस्तुत गर्ने जनाइएकोछ । यता, विपक्षी इन्डिया गठबन्धन भने एनडीएमा निर्णायक सिट जितेका जेडीयू र टीडीपीलाई आफ्नो तर्फ मिलाएर मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीतिमा रहेको बताएको छ ।