गोदावरी नगरपालिकाका मेयर गजेन्द्रसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार १ अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो। मेयर मर्हजनसहित ४ जना कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएर ५ वटा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो।
उनीहरूमाथि ढुंगाखानीमा अनियमितता गरेको आरोप लागेको छ। लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको उजुरीका आधारमा छानबिन हुँदा आर्थिक वर्ष ०७५/०७६ सालमा १७ करोड, ८९ लाख ३५ हजार ५ सय रुपैयाँ, आर्थिक वर्ष ०७६/०७७ सालमा २१ करोड, २१ लाख ९७ हजार ५० रुपैयाँ र आव ०७७/०७८ सालमा १८ करोड ६३ लाख २१ हजार ५ सय ८९ रुपैयाँ राजस्व रकम हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ।
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ सालमा २० करोड ४९ लाख ५३ हजार ७ सय ५० रुपैयाँ र ०७९/०८० सालमा २६ करोड ६३ लाख ३७ हजार ३ सय ९८ रुपैयाँ राजस्व चुहावट गरिएको आरोप पत्रमा उल्लेख गरिएको हो ।