म्याग्दीमा ३८ जना कृषकलाई हाते ट्याक्टर वितरण
काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–३ का कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ ।
परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर वितरण गरिएको हो । वडा कार्यालयको ‘कृषि प्रवर्द्धन’ वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ३८ जना कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिनुयो । उहाँले वडा कार्यालयले माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएको बताउनुभएको छ ।
४० हजार मूल्यका हाते ट्याक्टरमा कृषक र गाउँपालिकाले २०-२० हजारको दरले साझेदारी भएको पनि उहाँले बताउनुभयो । छिट्टै व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई प्लास्टिक टनेल समेत अनुदानमा वितरण गर्ने योजना बनाएको वडाध्यक्ष शाहीले बताउनुभएको छ । शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शाही, वडा सदस्य जितबहादुर खत्री र आइती दर्जी लगायतले कृषकलाई हाते ट्याक्टर वितरण गरेका हुन् ।
यस वर्ष कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत ८ लाख ५० हजारमा ३८ कृषकलाई हाते ट्याक्टर र २५ कृषकलाई प्लास्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ । गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्याक्टर दिएपछि राहत मिलेको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले बताउनुभयो ।
म्याग्दीमा पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ । हाते ट्याक्टर लगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो क्रममा रहेको हो । हाते ट्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने पिप्लेका कृषक प्रकाश शर्माले बताउनुभएको छ ।
सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्याक्टरको प्रयोग बढ्दै गएको हो।