भारतमा आगो निभाउने क्रममा जलेर ४ जना वन अधिकारीको मृत्यु, ४ गम्भीर घाइते
एजेन्सी । उत्तरी भारतीय राज्य उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउदा ४ जना वन अधिकारीको मृत्यु भएको छ ।
सोही घटनामा परी अन्य ४ जना जलेको अधिकारीहरूले शुक्रबार बताएका हुन्। उत्तराखण्डको राजधानी सहर देहरादुनबाट करिब ३ सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजन अन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको उनीहरूले बताएका छन्।
वन विभागका अधिकारीहरूका अनुसार बिहीबार साँझ आगो निभाउन ८ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो। यद्यपी तीव्र हावाले आगो अझ फैलिंदा टोलीका ४ सदस्यहरूको मृत्यु र अन्य ४ जना जलेर गम्भीर घाइते बनेका छन्। घाइतेहरूलाई एयरलिफ्ट गरेर अस्पताल लगिएको हो।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै बिनसर वन्यजन्तु आरक्षणमा लागेको आगो तत्काल नियन्त्रण गर्न वायुसेनाको सहयोगमा वन विभागका शीर्ष अधिकारीलाई निर्देशन दिएका छन्। अधिकारीहरूले राज्यमा वनमा आगलागी हुनुको कारण गर्मी र सुक्खा मौसमलाई दिएका हुन्।