भारतमा नयाँ सरकार गठनका लागि नरेन्द्र मोदीलाई राष्ट्रपति मुर्मुको मञ्जुरी
एजेन्सी । भारतमा लोकसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै नरेन्द्र मोदीलाई नयाँ सरकार गठन गर्न राष्ट्रपति द्रौपदी मुर्मुले मञ्जुरी दिनुभएको छ ।
भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले प्रधानमन्त्रीका रुपमा मोदीलाई अघि सार्दै गरेको दावी पेशलाई राष्ट्रपति मुर्मुले मञ्जुरी दिनुभएको हो । शुक्रबार नै बसेको बैठकले मोदीलाई पार्टीको संसदीय दलका नेताको रूपमा चयन गरेपछि सरकार गठन गर्न राष्ट्रपति समक्ष दावी गरिएको हो। मोदीले आइतबार साँझ ६ बजे राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
तेस्रो पटक देशको प्रधानमन्त्रीको रुपमा सपथ लिन लागेका मोदीले सपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित भुटान, श्रीलंका, बंगलादेश र मरिससका प्रधानमन्त्रीलाई निमन्त्रणा पठाउनुभएको हो । प्रधानमन्त्री दाहाल, मोदीको सपथ कार्यक्रममा सहभागी हुन शनिबार भारत जानुहुने भएको छ। उक्त समारोहमा विभिन्न देशका प्रमुख नेताहरुलाई समेत निम्तो दिइएको हो । लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले तेस्रो पटक बहुमत हाशिल गरेको छ।
एनडीए गठबन्धनले २ सय ९२ सिट जितेको हो । भाजपा एक्लैले बहुमत ल्याउन भने सकेन बहुमतका लागि आवश्यक २ सय ७२ सिटमा विजेपीले २ सय ४० सिट जितेको छ ।