कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । संघीय सांसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार साँझ शुरु हुन नपाउँदै स्थगित भएको छ ।
बैठक शुरु हुनसाथ प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समितिको माग गर्दै अवरोध गरेपछि बैठक स्थगित गरिएको हो । कांग्रेसको प्रतिनिधि सभामा अवरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक यहि जेठ ३ गते बिहान ११ बजे बस्ने सभामुख घिमिरेले जानकारी गराउनुभएको छ । यता सभामुख घिमिरेले १ पटक गृहमन्त्री लामिछानेले बोल्न समय मागेको र उहाँलाई समय दिनुपर्ने भन्दा पनि कांग्रेसले अवरोध कायम राखेपछि सभामुखले बैठक स्थगित गर्नुृभएको हो ।
कांग्रेस संसदीय छानबिन समिति नबनेसम्म ब्याग नहुने बताइरहेको छ । बजेट अधिवेशनको दोस्रो दिन पनि कांग्रेसले बैठकमा अवरोध कायम राखेको हो । तर मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भने कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको थियो ।
कांग्रेसले अवरोध गरेपछि राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रमको धन्यवाद पत्र पनि सभामुख घिमिरेले पढ्न समेत पाउनु नभएको हो ।