देश अहिले संघीयता कार्यान्वयनको बहस र छलफलको चरणमा छ: सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश अहिले संघीयता कार्यान्वयनको बहस र छलफलमा रहेको बताउनुभएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका-१० को नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले संघीयता मुलुकका लागि उचित छैन भन्नेहरुलाई जवाफ दिनेगरी पछाडि परेको समूदायलाई प्राथमिकता दिने खालको कामहरु मुलुकमा भइरहेको बताउनुभयो ।
सोही नगरपालिका अन्तर्गतको वडा नम्बर १० पछि परेको क्षेत्र भएपनि संघीयताका कारण सोही क्षेत्रमा पनि प्राथमिकताका साथ विकास निर्माणको कामले गति लिन सम्भव भएको उहाँले स्पष्ट पार्नुभएको छ । संघीयताले गरिबी, भौतिक पूर्वाधारको कमी र जनचेतनाको पनि कमी भएको ठाउँमा प्राथमिकताका साथ काम गर्नुपर्छ भन्ने कुरालाई अघि ल्याएको पनि उहाँले स्मरण गर्नुभयो ।
सभामुख घिमिरेले संघीयताले दिएको अधिकार कार्यान्वयनमा सोही नगरपालिकाले खेल्दै आएको भूमिकाको पनि प्रशंसा गर्नुभएको छ ।