कांग्रेसको अवरोधकाबीच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत प्राप्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बिहीबार विश्वासको मत प्राप्त गर्नुृभएको छ ।
नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सांसदहरूको नाराबाजीकाबीच मुख्यमन्त्री सोडारीले विश्वासको मत प्राप्त गर्नुभएको हो । बिहीबारको विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ जना सांसदले बहिष्कार गरेका थिए । उनीहरूले प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका हुन् ।
बिहीबारको मतदान प्रक्रियामा २८ जना सांसद सहभागी भएका थिए । विश्वासको मतको पक्षमा २८ मत परेको हो । एकीकृत समाजवादी पार्टीका सोडारी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ जना स्वतन्त्र सदस्य रहेका छन् ।