भारतको आइजोलमा ढुंगा खानीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु
एजेन्सी । भारतको मिजोरमको राजधानी आइजोलमा लगातारको वर्षापछि ढुंगाको थुप्रो खस्दा २७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।
आइजोलको बाहिरी इलाकामा भारी वर्षाका कारण भएको घटनामा मिजोरमका प्रहरी महानिर्देशक अनिल शुक्लाले शुरुमा ७ जनाको मृत्यु भएको पुष्टि गरेको भएपनि रिपोर्टमा मृतकको संख्या बढेर १० थप १७ गरी जम्ममा २७ जना पुगेको हो ।
सोही दुर्घटनाका कारण मानिसको मृत्यु हुनुका साथै रूख तथा बिजुलीका खम्बाहरू उखडिएका छन् । बाढीका कारण धेरै सडक दुर्गम भएका हुन् । मिजोरमका डीजीपीले राज्यका विभिन्न भागबाट धेरै पहिरोका घटना भइरहेको जनाएको छ ।
प्रहरी कर्मचारीहरू निरन्तर उद्धार कार्यमा संलग्न रहेको बताउँदै नदीको जलस्तर बढेकाले नदी किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको डीजीपीले बताएका हु्न् ।
मिजोरमका मुख्यमन्त्री लालदुहोमाले राज्यभित्र प्रभावितलाई सहयोग गर्न राहतको प्याकेज घोषणा गरेका छन् । सूचना तथा जनसम्पर्क विभागले प्रभावित व्यक्तिलाई १५ करोड रुपैयाँ सहायता प्राप्त हुने र मृतकका आफन्तलाई ४ लाख प्रदान गरिने जनाएको हो।