पार्टी विभाजन कार्यको जसपा नेपालले भण्डाफोर गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन कार्य धोखापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने भएको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि बुधबार आन्तरिक परिपत्र गरेको हो । जसपा नेपालले पार्टीभित्र कहिल्यै सैद्धान्तिक, वैचारिक, अन्य विषयहरुमा फरक मत, विवाद नरहेको अवस्थामा अकस्मात संसदीय दल र पार्टीको नेतृत्व तहमा गुट खडा गरी अशोक कुमार राईको अध्यक्षतामा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने कार्यको जसपा नेपालले भत्र्सना गरेको छ ।
यस कार्यले पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीजस्ता मुद्दालाई कमजोर बनाउने काम भएको ठहर गर्दै मधेसी, आदिवासी जनजाती, दलित, थारु, पिछडावर्ग, मुुस्लिम, अल्पसंख्यक, उत्पीडित जाति र राष्ट्रियताको मुक्तिको आन्दोलनलाई नै धरापमा पार्ने कार्य भएको समेत बैठकले निष्कर्ष निकालेको हो ।
बैठकले पार्टीलाई एकतावद्ध राख्दै आगामी एकताको राष्ट्रिय महाधिवेशनलाई सफल पार्न पार्टीले जारी गरेको निर्देशिका, निर्वाचनसम्बन्धी कार्यतालिका र कार्यक्रमअनुसार निर्धारित समयमै राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गरी पार्टी केन्द्रीय कार्यालयलाई जानकारी गराउन भनिएको छ ।