वर्तमान सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने एकीकृत समाजवादीको निष्कर्ष
काठमाडौं । नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि उत्पन्न परिस्थितिको बारेमा छलफल गर्न मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ।
त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भूमिका खेल्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो । पार्टी महाधिवेशनको कामलाई छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई बैठकले सचेत गराएको पनि प्रवक्ता खतिवडाले बताउनुभयो ।
बैठकमा नेताहरुले पार्टीभित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका छन् । पार्टीभित्र कुनै समस्या नभएको निष्कर्ष पनि बैठकले निकालेको प्रवक्ता खतिवडाले बताउनुभयो ।