कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट आएको पत्र बाचन गरेर सुनाउनुभएको छ ।
प्रतिनिधि सभाको बैठक बिहीबार शुरु हुनासाथ कांग्रेसका सांसदहरु नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न गएका हुन्। सभामुख घिमिरेले बैठकमा शून्य र विशेष समय नरहेको जानकारी गराउँदै राष्ट्रपतिबाट आएका पत्रहरु सुनाउनुपर्ने रहेको बताउनुभयो ।
उहाँले राष्ट्रपतिलाई यहि जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद ज्ञापन गर्नु र अध्यादेशबाट आएका कानूनलाई टेबुल गर्नु पनि संसदको काम रहेकाले अवरोध नगर्न आग्रह गर्नुभएको हो । तर प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले संसदीय छानविन समिति गठनको माग गर्दै गरिएको नाराबाजी नरोकेपछि खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक प्रमाणीकरण गरिएको पत्र उहाँले पढ्नुभयो ।
लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कार्यभार तोकिएको पत्र पनि उहाँले पढेर सुनाउनुभएको छ।पत्र पढिरहँदा अन्य प्रतिपक्ष दलहरु लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समेतले उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएसँगै संसदमा होहल्ला भएको र नाराबाजी अझै बढेको थियो ।
सत्तापक्षका सांसदहरु समेत उठेर प्रतिपक्षी दलका सांसदहरुको प्रतिवाद गर्न थालेपछि संसद बैठकलाई सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभएको छ ।