गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत बदर, सरकार ढल्यो
काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले सोमबार बदर गरिदिएको छ।
पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट जारी हुने आदेश सर्वोच्चले सोमबार गरेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको इजलासले रिट जारी हुने आदेश गरेसँगै मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत पनि बदर भएको छ ।
६० सदस्यीय प्रदेश सभाका ३० जनाबाट प्राप्त मत बहुमत नहुने निर्णय सर्वोच्चले दिएको हो । अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबै भन्दा ठूलो दलको नेताका रुपमा पाण्डेलाई नै मुख्यमन्त्री हुने बाटो पनि खुलेको छ ।
सोही मुद्दामा गत मंगलबार र बुधबार बहस भएको थियो । तर सुनुवाई नसकिएको भन्दै यो रिटलाई हेर्दाहेर्दामा राखेर सोमबार आदेश जारी गरिएको हो ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । तर गत वैशाख २४ गते प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको घोषणा गर्नुभएको थियो। त्यसपछि कांग्रेस संसदीय दलका नेता पाण्डे वैशाख २५ गते सर्वोच्चमा पुगेर रिट दायर गर्नुभएको हो ।
सोही रिटपछि मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय गर्न नदिने गरी सर्वोच्चले बाटै अन्तरिम आदेश दिएको थियो । वैशाख २८ गते न्यायाधीश अव्दुल अजिज मुसलमानको एकल इजलासले अधिकारीलाई दीर्घकालीन असर हुने निर्णय नगर्न आदेश दिएका थियो ।