लगानीकर्तालाई उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो ध्यान नीति तथा कार्यक्रम अनुरुपको बजेट निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको बताउनुभएको छ । उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि आफूले हरसम्भव प्रयास गर्ने उहाँको भनाइ थियो ।
उहाँलेले तेस्रो लगानी सम्मेलनबाट लगानी भित्र्याउनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता माझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको दावी गर्नुभयो । लगानी प्रवर्धनमा बाधक देखिएका ऐनहरु अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको उहाँको तर्क छ । सरकार निजी क्षेत्रको प्रवर्धनका पक्षमा रहेको पनि उहाँले बताउनुभएको हो।
विद्युत निर्यातको दीर्घकालीन सम्झौता उर्जा विकासको लागि कोशेढुंगा हुने उहाँले बताउनुभएको छ । नेपाल विद्युत आयात गर्ने मुलुकबाट विद्युत निर्यात गर्ने मुलुकमा रुपान्तरित भएको उहाँले दावी गर्नुभयो । स्वदेशभित्रै विद्युत खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको उहाँकको तर्क छ ।
पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय सवारी साधनलाई प्रोत्साहित गरी विद्युतको खपत बढाउँदै जाने आफ्नो योजना रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।