प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन: मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताउनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले सञ्चारजगत लगायतका सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गरेका शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते, अपांग लगायतका प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गरेकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ ।
सन् १९९३ मा भएको संयुक्त राष्ट्रसंघीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा प्रयेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको उहाँले बताउनुभएको हो । जसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा कार्यक्रम तय गर्न सहयोग पुग्ने विश्वास लिएको मन्त्री शर्माले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।