जबरजस्ती करणीको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
काठमाडौं । नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।
एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन् । भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ। वृत्त दरबारमार्गमा युवतीले शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि खोजीमा रहेको प्रहरीले शर्मा कहाँ छन् पत्ता लगाउन सकेको छैन।
शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको र हाल फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटना अनुसन्धानका क्रममा रहेकाले प्रहरीले यसको बारेमा थप विवरण उल्लेख गरेको छैन। शर्मा निर्माण व्यवसायी समेत हुन्। उनको ठिमी नगरपालिका-३ गठ्ठाघरमा प्रदेश निर्माण सेवा छ।
दोलखाका जिल्लास्तरीय नेता शर्मा बालकोट बस्दै आएका हुन्। एमालेको गत जिल्ला अधिवेशमा शर्मा उपसचिव पदको उम्मेदवार बनेका थिए। ठेक्कापट्टा साथै शर्मा मिटरब्याजको कारोबारमा सक्रिय छन्।
शर्मालाई भरतपुरका एक जना निर्माण व्यवसायीलाई मिटरब्याजमा रकम लगाएर पीडित बनाएको आरोप लागेको थियो।