सुकुम्बासी बस्तीलाई जथाभावी नभत्काउन काठमाडौं महानगरलाई अध्यक्ष ओलीको चेतावनी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्ती भत्काउने दुस्साहस नगर्न काठमाडौं महानगरपालिकालाई चेतावनी दिनुभएको छ।
भूमि अधिकार तथा श्रमिक संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । लोकतन्त्रमा सुकुम्बासीमाथि जथाभावी बस्ती भत्काउन नमिल्ने बताउदै उहाँले उनीहरुलाई आवासको व्यवस्था गर्न महनगरपालिकालाई सुझाव दिनुभयो ।
सुकुम्बासी बस्ती भत्काउने नभई निर्माणको अभियान शुरु गर्नुपर्ने भन्दै उहाँले काठमाडौंका मेयर बालेन शाहलाई सुकुम्बासीमाथि ज्यादति नगर्न चेतावनी दिनुभएको छ । अरुलाई हेप्न नसकेपछि सुकुम्बासीलाई हेप्ने बताउदै उहाँले मेयर शाहलाई चेतावनीको शैलीमा प्रश्न समेत गर्नुभयो ।
सुकुम्बासी समस्या समाधान गर्न ३ नै तहका सरकार लाग्नुपर्ने बताउदै उहाँले आफूले सरकारसँग पनि यो समस्या समाधानका लागि गम्भिरतापूर्वक छलफल गरिरहेको दावी गर्नुभएको हो । सुकुम्बासी बस्तीको एउटा छेउमा ४/५ तले घर लस्करै बनाई दिन पनि उहाँले महानगरलाई सुझाव दिनुभयो ।
विगतमा आफू सरकारमा हुँदा पनि सुकुम्बासी समस्या समाधान गर्न पहल गरेको दावी गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले पहिलेको पहललाई अघि बढाउने समेत बताउनुभएको छ ।