सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसहित प्रमुख दलका शीर्ष नेतासँग आज छलफल गर्दै
काठमाडौं । प्रतिनिधिसभाका सभामुखले देवराज घिमिरेले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएको छ ।
सभामुख घिमिरेले मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाउनुभएको हो । संसदको वर्षे अधिवेशन यहि वैशाख २८ गतेदेखि शुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बैठकमा बोलाउनुभएको छ ।
सभामुख घिमिरेले प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनलाई बोलाउनुभएको हो ।
सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।
कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुख घिमिरेले मंगलबार राजनीतिक दलका शीर्ष नेताहरुलाई बैठक बोलाउनुभएको छ ।