भारतको मिजोरम राज्यमा पहिरोमा परी ३७ जनाको मृत्यु, विद्युत र पानीको आपूर्ति बन्द
एजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भएर पहिरो जाँदा उत्तरपूर्वी भारतस्थित मिजोरम राज्यमा ३७ जनाले मृत्यु भएको छ ।
मिजोरमको राजधानी आइजोलमा भारी वर्षा भएपछि पहिरो गएको हो । सोही पहिरोमा पुरिएर ३७ जना मानिसको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार त्यहाँ आवासीय पूर्वाधारमा क्षति हुँदा बिजुली र पानी आपूर्ति समेत बन्द भएको हो। आपतकालीन कोषमा राज्य सरकारले १५ करोड रुपैयाँ छुटयाएको छ ।
मृतकका परिवारलाई ४-४ लाख भारुका दरले राहत उपलब्ध गराइने त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका हुन् । लगातार निकै ठूलो चक्रवात चल्दा मिजोरमका अधिकांश स्थानमा बिजुलीको पोल र रुख समेत उखेलिएका छन् ।
बंगालको खाडीमा विकसित भएको न्यून-चापीय प्रणाली यहि जेठ १२ गते साँझ शक्तिशाली चक्रवातमा परिणत भएको हो ।