विपक्षी दलले गृहमन्त्री लामिछानेलाई आज संसदमा बोल्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् ।
प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा आइतबार दिउँसो २ बजे बस्ने भएको हो । आइतबार बिहान नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले गृहमन्त्री लामिछानेले बोलेपछि विपक्षीको तर्फबाट नेपाली कांग्रेसले सभामुखसँग बोल्न समय माग्ने बताउनु भएको छ ।
प्रमुख सचेतक शाहीले समिति गठन नहुँदासम्म संसदका नियमित काम अघि बढ्न नदिने निर्णय भएको पनि जानकारी गराउनुभयो। बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी उपाध्यक्ष वुद्धिमान तामाङलगायतका नेताहरु सहभागी भएका थिए । कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न अवरोध गर्दै आएको थियो । सत्तारुढ गठबन्धन समिति गठन गर्न सहमत भएपछि कांग्रेससहितका विपक्षी दलहरुmले गृहमन्त्रीलाई संसदमा बोल्न दिन तयार भएका हुन् ।
यस अघि गत शुक्रबार पनि कांंग्रेसको आह्वानमा प्रतिपक्षी दलहरुबीच सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको बारेमा छलफल भएको थियो । सोही छलफलबाट दलहरु सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नका लागि एकमत भएका थिए ।