प्रतिनिधि सभाको बैठकमा आज गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार बिहान बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको हो । बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको हो । यसैगरी, सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नुभएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको हो। यसपछि सभामुख घिमिरेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ । संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धित समितिको प्रतिवेदन २०८० पेश गर्ने कार्यक्रम रहेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्नुहुने भएको छ । त्यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।