संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै
काठमाडौं । संघीय संसदका दुवै प्रतिनिधि र राष्ट्रिय सभाको बैठक मंगलबार पनि बस्ने भएको छ ।
प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो । सोही बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनु हुने भएको छ । साथै उहाँले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको हो ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने तथा धन्यवाद प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची पनि रहेको छ । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने र शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको हो ।
तर नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलहरुले मंगलबार पनि बैठक चल्न नदिने निश्चित देखिएको छ । सहकारी ठगी छानविनका लागि संसदीय समिति नबनेसम्म बैठक चल्न नदिनेमा विपक्षीहरु एकमत भएका हुन् ।
त्यस्तै, राष्ट्रिय सभाको बैठक पनि मंगलबार दिउँसो सवाँ १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।