गृहमन्त्री लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारसँग कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा प्रतिनिधि सभा सांसद गीता बस्नेतसँगै गृहमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताउनुभएको हो । सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ ।
ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पूर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो । सहमहामन्त्री पाण्डेले गृहमन्त्री लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट अर्ब भन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहोर्याउँनुभएको हो ।
गृहमन्त्री लामिछानेको नाम किटान गरेर संसदीय छानविन समिति नबनेसम्म आफूहरुले संसद बैठक चल्न नदिने अडान पनि उहाँले राख्नुभयो ।