कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको गृहमन्त्री लामिछानेको आरोप
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाउनुभएको छ ।
सोमबार संसद भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाउनुभएको हो । प्रधानमन्त्री दाहाललाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको बताउदै उहाँले संसदको विधि अनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको बताउनुभयो ।
गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताउनुभएको छ । संसदीय समिति गठन गर्ने, सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जाहेज भएको, तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने उहाँको तर्क छ ।
गृहमन्त्री लामिछानेले सरकारले सहकारी पीडितहरुको न्यायको लागि तीव्र गतिमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशील र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने बताउनुभएको छ ।
गृहमन्त्री लामिछानेले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरुलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको पनि बताउनुभयो ।