कांग्रेसको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।
कांग्रेसले सोमबार दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको हो । सोमबार दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो । सोही बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने कांग्रेसले जनाएको छ ।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्न भएको बारेमा सरकार संसदीय छानबिन समिति बनाउन तयार नदेखिएको निष्कर्ष निकालेको थियो । थप निर्णय दलको बैठकबाट गर्ने निर्णय पनि कांग्रेसले गरेको हो।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताको बारेमा संसदीय छानबिन समिति माग गरिरहेको भएपनि सरकार तयार नहुँदा संसद चल्न सकेको छैन ।