चौथो पटक पनि विश्वासको मत प्राप्त गर्नेमा ढुक्क छु: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पनि आफूले विश्वासको मत प्राप्त गर्नेमा ढुक्क रहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले जेठको ७ गते आफूले चौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने दावी गर्नुभयो । विश्वासको मत आउँदैन कि भन्ने चिन्ता नगर्न पनि उहाँ आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले सहकारीसँगको विषयलाई लिएर संसद अवरुद्ध भइरहेको भन्दै आइतबार बिहानसम्म सहज रुपबाट संसद सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताउनुभयो । उहाँले आफूले संसदको अवरुद्ध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताउनुभएको छ । संसद सहज रुपमा अघि बढेसँगै नीति तथा कार्यक्रम पनि सहज रुपमँ अघि बढ्ने र विश्वासको मत लिन पनि सहज हुने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्ततु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पास गर्नुपर्ने रहेको बताउनुभएको छ । नीति तथा कार्यक्रममा आएका सुझावलाई समेटर बजेट र नीति तथा कार्यक्रमको तादात्म्यता मिलाएर ल्याउने गरी तयारी भइरहेको उहाँको भनाइ थियो ।