कांग्रेसले राखेका मागमा बुँदागत रूपमा बालुवाटारमा छलफल जारी
काठमाडौं । नेपाली कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी रहेको छ ।
उनीहरूले कांग्रेसले राखेका विभिन्न प्रस्तावका बुँदाहरूमा छलफल गरिरहेको बालुवाटार स्रोतको बताएको हो । शनिबारको बैठक संसदको अवरोध हटाउनका लागि निर्णयक बैठक हुन सक्ने जनाइएको छ । जसका लागि कांग्रेसले विभिन्न बुँदाहरुमा प्रस्ताव गरेको हो । यता कांग्रेस भने बालुवाटार बैठक पछिको निर्णय कुरिरहेको छ ।
प्रधानमन्त्री दाहालले पनि आइतबारसम्ममा संसदको अवरोध हटाउन सहमति जुट्ने बताउनुभएको हो । शनिबारको बैठक केही लामो हुन सक्ने बालुवाटार स्रोतको भनाइ छ । शनिबार बिहान सदनको गतिरोध हटाउन कांग्रेस नेताहरूसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहाल समिति बनाउन सकारात्मक रहेको कांग्रेसको दावी रहेको छ । तर गृहमनत्री लामिछाने व्यक्तिकै नाममा संसदीय छानबिन समिति बनाउनुपर्नेमा कांग्रेसको मागमा एमाले र रास्वपा तयार भएका छैनन् ।