आगामी आर्थिक वर्षको लागि विद्यार्थी छात्रवृति कार्यक्रममा ६० करोड बजेट विनियोजन
काठमाडौं । आगामी आर्थिक वर्षको लागि अर्थमन्त्री वर्षमान पुनले मंगलबार छात्रवृतिको कार्यक्रम निरन्तता दिने बताउनुभएको छ ।
छात्रवृतिको लागि ६० करोड बजेट विनियोजन भएको उहाँले बताउनुभएको हो । कक्षा ९ देखि १२ सम्म दिंदै आएको छात्रवृतिलाई पुनर्संरचना गरी कक्षा ६ देखिको व्यवस्था गरिएको मन्त्री पुनले बताउनुभयो । त्यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने उहाँको भनाइ छ ।
निर्वतमान अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेटमा छात्रवृतिको लागि विद्यालय तह, प्राविधिक तथा उच्च शिक्षामा गरी ३ अर्ब २ करोड बजेट विनियोजन गर्नुभएको थियो । वर्ष करिब २६ लाख छात्रछात्राहरू लाभान्वित हुने चालु आवको बजेटको लक्ष रहेको थियो ।
शैक्षिक सत्र २०८० सालमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ११ लाख चालु आर्थिक वर्षको फागुनसम्म छात्रवृत्तिबापत २ अर्ब ३६ करोड ७५ लाख ३९ हजार उपलब्ध गराएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/०८१ मा देखिएको छ ।
सोही छात्रवृत्तिले विद्यालयमा लक्षित वर्गको टिकाउ दर बढाउन सहयोग गरेको सर्वेक्षणमा उल्लेख गरिएको हो ।